जनकपुरधाम – धनुषाको सबैला नगरपालिकामा श्रीमानले छोरा जन्माउन नसकेको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।
१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उहाँका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताउनुभयो ।
८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उहाँले आरोप लगाउनुभयो । मृतकको घाँटीसहित शरीरभरि निलडाम देखिएको उहाँले बताउनुभयो । किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासो नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाउनुभयो ।
ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनुभयो । घटनाका थप आरोपीको खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भन्नुभयो, ‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ ।’
प्रतिक्रिया