अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो, बसाइसराइ मुख्य कारण

कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो, बसाइसराइ मुख्य कारण


पोखरा – राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाको तुलनामा यसपटक डेढ लाख हाराहारी जनसंख्या थपिने अनुमान गरेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसंख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयले जनाएको छ ।

‘अहिलेसम्म घर संख्या हेरेर अनुमान गरेका हौं । अलिअलि तलमाथि हुन सक्छ । करिब त्यही हाराहारी आउँछ,’ कार्यालय प्रमुख जग्गुलाल बस्यालले भन्नुभयो, ‘त्यसकै आधारमा गणकहरू खटाएका छौं । मुल गणनापछि मात्रै आधिकारीक डाटा आउँछ ।’ उहाँका अनुसार यहाँ १ लाख ४५ हजार घर छन् । त्यसमध्ये १ लाख १६ हजारमा मान्छे बसेका छन् । १ लाख ६८ हजार परिवार छन् ।

जिल्लामा जनगणनाका लागि ८५० जना गणक खटाइने छ । ‘सबैलाई तालिम दिएका छौं । केही टोलीलाई भोलिसम्म दिइसक्छौं,’ उहाँले भन्नुभयो, ‘करीब तयारी पूरा भएको छ । गणनाको सामग्री पनि जम्मा भैसक्यो ।’ मुख्यगरी बसाइसराइका कारण कास्कीको जनसंख्या बढी हुने बताइएको छ । ‘जन्मदर घट्दो छ । गाउँमा भन्दा सहरमा यो अनुपात झन् बढी छ,’ बस्याल भन्नुहुन्छ, ‘विवाह ढिलो हुने र कम बच्चा जन्माउने कारण समग्र जनसंख्या भने खासै बढ्ने सम्भावना छैन ।’ कास्कीमा अन्यत्रबाट बसाइसराइ गरेर आउनेहरू धेरै भए पनि गण्डकीका अन्य जिल्लाको जनसंख्या धेरै तलमाथि हुने सम्भावना छैन ।

गणकसँगै १९० जना सुपरीवेक्षक पनि साथमै रहने बस्यालले जानकारी दिनुभयो । एक जना सुपरीवेक्षकले ३ देखि ५ जना गणकलाई सहयोग गर्नेछन् । गणकलाई भूगोलको जानकारी दिने, गणकले भरेका विवरण रुजु गर्ने, फारम भर्न नसकेकालाई सहयोग गर्ने काम सुपरीवेक्षकले गर्ने उहाँले बताउनुभयो । सबै काम गणक र सुपरीवेक्षक मिलेर गर्नुपर्ने उहाँको भनाइ छ ।

यसअघि ३० भदौदेखि १८ असोजसम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सोही आधारमा मूल गणना हुनेछ । गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरण संकलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिनेछ । सोही क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन हुनेछ ।