अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छठका अवसरमा एमाले अध्यक्षको शुभकामना

‘नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गरौं’

‘नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गरौं’


उदाउँदो सूर्यको आराधना गर्दै मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ पर्व मनाइँदै आएको छ । हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ । मानव समाज कृषि युगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ । यस पर्वमा ब्रत बस्ने, जलाशयमा स्नान गरी बेलुकीपख प्रसादको रुपमा खीर खाने र खुवाउने चलन छ । परम्परा अनुसार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । बितेका केही वर्षयता छठ पर्व तराईमधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ । चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

नेकपा (एमाले)ले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प लिएको छ । सोही संकल्प अनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्‍यो । हामीले सिंगो देशलाई नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेकपा (एमाले)को यस उद्देश्यलाई साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

छठ पर्व २०७८ को अवसरमा पुनः हार्दिक शुभकामना ।

एमाले अध्यक्ष ओलीले २४ कात्तिक २०७८ का अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ