कपिलवस्तु – शिवराज नगरपालिकाको चन्द्रौटा बजारका दुई पसलमा मङ्गलवार राति आगलागी हुँदा करीब ९० लाख बराबरको क्षति भएको छ । आगलागी राति ९ बजेर ३० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताउनुभयो ।
आगलागीले विष्णु भुसालले सन्चालन गरेको चन्द्रौटा फिक्स सप कपडा पसल जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र अन्य सामग्री सबै नष्ट भएको छ । यसैगरी भुसालको पसलसँगैको बाबुराम गिरीले सञ्चालन गरेको ल्यापटप हस्पिटल कम्प्युटर पसलमा समेत आगो क्षति पुर्याएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र शिवराज नगरपालिकाको दमकल परिचालन भएको थियो ।
आगलागीका कारण र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । दुवै पसलमा गरी करीब ९० लाखको क्षति भएको अनुमान छ । कपडा पसलमा ५० लाख र कम्प्युटर पसलमा ४० लाखभन्दा बढीको सामग्री जलेको सञ्चालकहरूको भनाइ छ ।
प्रतिक्रिया