अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: विद्युतीय मतदानदेखि विदेशी दललाई आमन्त्रण

एमाले महाधिवेशन: विद्युतीय मतदानदेखि विदेशी दललाई आमन्त्रण


काठमाडौं – नेकपा एमालेको चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । बन्दसत्र सौराहमा हुनेछ । प्रतिनिधिलाई सौराह आसपासमै आवास र सामूहिक भोजनको व्यवस्था गरिएको छ ।

महाधिवेशनमा विद्युतीय मतदान गरिनेछ । १० मंसिरमा उद्घाटनपछि ११ गते निर्वाचन प्रक्रिया सुरु हुने र १२ गते मतपरिणाम घोषणा हुने समितिले जनाएको छ ।

त्यसैगरी चितवन आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने निर्णय समितिले गरेको छ । बुधबार बसेको समिति बैठकले कम्तिमा ५ लाख जनसभागिता गराउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले विदेशमा रहेका भाइचारा संगठनलाई निमन्त्रणा पठाउने गर्ने निर्णयसमेत गरेको छ । विदेशी दललाई पनि आमन्त्रण गरेको छ । दक्षिण एसियाका सत्तारुढ र विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको समितिका सदस्यसमेत रहेका भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।

व्यवस्थापन समितिको बैठकले २७ कात्तिकको प्रतिनिधि चयन सम्पन्न गर्न जोड दिएको छ । देशभरबाट १ हजार ९९९ जना छनोट हुनेछन् । सबै प्रतिनिधिको सम्पूर्ण विवरण ३० कात्तिकभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैठकले महाधिवेशनको प्रचारमा भित्ते लेखन नगर्ने निर्णय गरेको छ । प्रचार प्रसारमा डिजिटल फर्म्याट प्रयोग गर्ने समितिको निर्णय रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।