अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो दूषित गठबन्धनको सरकार हो : सुवास नेम्वाङ

यो दूषित गठबन्धनको सरकार हो : सुवास नेम्वाङ


पाँचथर – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको बताउँदै एमाले स्थायी कमिटी सदस्य नेम्वाङले कुनै पनि प्रश्न थेग्न नसक्ने भएकाले वर्तमान सरकार दूषित र टिप्पणी गर्न लायक नरहेको बताउनुभयो ।

नेकपा एमाले फिदिम नगरपालिका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले संसारमा कहीँ नभएको फैसलाले एमाले सरकारबाट बाहिरिनु परेको बताउनुभयो । ‘केपी ओली सरकारमा जाने सबै बाटोहरू बन्द गरेर अदालतले नयाँ सरकार गठन गरेको छ’, नेम्वाङले भन्नुभयो, ‘विश्वास मत लेउ भन्ने आँट नगरेर अदालतले मन्त्रिपरिषद्मा भाग खोज्यो ।’

सर्वोच्च अदालतले न्यायिक मन राखेमा एमालेले अदालतसमक्ष गरेका दाबी पुष्टि हुने बताउँदै नेम्वाङले दलले कारबाही गरेका सांसदबाट नयाँ पार्टी गठनलाई मान्यता दिने कदम लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । नेम्वाङ एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी अवैधानिक भएको बताउँदै उक्त दललाई एमालेले दलको मान्यता दिन नसक्ने बताउनुभयो ।

एकै पटक सदनको अन्त्य गर्ने, अध्यादेश जारी गर्ने, निर्वाचन आयोगले तत्कालै नियमावली संशोधन गर्ने तथा दल गठनका लागि केही मान्छे तयार हुने विषय केवल एमालेलाई कमजोर पार्ने योजनाका साथ अगाडि बढेको नेम्वाङको आरोप छ ।

फरक प्रसङ्गमा नेम्वाङले एमाले जनताले हराएर, संसद्मा विश्वासको मत जुटाउन नसकेर, लोकतान्त्रिक प्रणालीबाट बाहिर नभएको तर अचानक आएको अदालतको फैसलाले प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको बताउनुभयो । ‘आगामी निर्वाचनबाट मूल ढोकाबाट सरकारमा पुग्छ’, नेम्वाङले भन्नुभयो, ‘हामीलाई सरकारमा जाने जनादेश छैन भन्ने मान्छे अदालतको फैसलाले प्रधानमन्त्री हुनुभएको छ ।’

सरकार सञ्चालनका लागि सरकारमा आबद्ध दलहरूले गठन गरेको सर्वदलीय गठबन्धनलाई संविधान र कानुनले नचिन्ने नेम्वाङले बताउनुभयो । मन्त्रिपरिषद् सर्वदलीय हुनसक्ने बत्ताउँदै नेम्वाङले वर्तमान सरकार अचम्मका र बेतुकका काम गर्दै आएको टिप्पणी गर्नुभयो ।

नेम्वाङले सरकारले गरेका कामका विषयमा गठबन्धन भित्रैबाट प्रश्न उठेको र सरकारका कदम टिप्पणी गर्न योग्य नभएको बताउनुभयो । ८८ दिनसम्म सरकार विस्तार नहुनु, सरकारले स्पष्ट गति लिन नसक्नु तथा संसद् र सरकार कमजोर हुँदा मुलुकले इतिहासमै पहिलो पटक बजेटविहीन अवस्था बेहोर्नुपरेको बताउँदै नेम्वाङले यो अवस्था लज्जाजनक भएको बताउनुभयो ।

एमालेले गरेका कामका आधारमा सम्मानका साथ छाती फुलाएर जनतामा जाने र ढुक्क साथ जनताको साथ पाउने अवस्थामा रहेको भन्दै नेम्वाङले कार्यकर्ताहरूलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । नेम्वाङले एमालेको आसन्न महाधिवेशनले पार्टीलाई झनै सशक्त र गतिशील बनाउने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य श्रीप्रसाद जवेगू, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले मन्तव्य राख्नभएको थियो । एमाले फिदिम नगरपालिका कमिटीको अधिवेशनको बन्द सत्र आजै शुरु हुने नगरपालिका कमिटी अध्यक्ष पृथ्वी लावतीले जानकारी दिनुभयो ।