तनहुँ – भोलिदेखि देशभर राष्ट्रिय जनगणनाा सुरु हुँदै छ । तनहुँमा राष्ट्रिय जनगणनाको १२औँ शृंखलाको मुख्य गणनाको तयारी पूरा भएको छ ।
जिल्लामा ४९० गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्ने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताउनुभयो । उहाँकाअनुसार संस्थागत घरपरिवारको गणना गर्न छ जना खटिनेछन् । ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर पठाएका छौँ । उनीहरू गणनाका लागि तम्तयार छन्’ उहाँले भन्नुभयो । ‘एक जना गणकले औसतमा २०० घरमा पुगेर जनगणना फारम भर्नेछन् । फारम भर्नलाई ५२ वटा मुख्य प्रश्न सोधिनेछ’, उहाँले भन्नुभयो । गणनाका लागि २० मिनेट समय लाग्ने जनाइएको छ ।
जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरिएको थियो । घर सूचीकरण गर्न तनहुँमा १२० जना सुपरिवेक्षक खटिएका थिए । सुपरिवेक्षकले जिल्लाका ९१ हजार घर सूचीकरण गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा यहाँ झण्डै १३ हजार घर थपिएको प्रारिम्भक तथ्यांकले देखाउँछ ।
२०६८ सालको जनगणनामा जिल्लामा ७८ हजार ३०९ घर सूचीकरण गरिएको थियो । उक्त जनगणनाअनुसार तनहुँमा तीन लाख २३ हजार २८८ जनसंख्या छ ।
जिल्लाका पाँच स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । दुलेगौँडा, भिमाद, दमौली, डुम्रे र आँबुखैरेनीमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको हो ।
प्रतिक्रिया