काठमाडौं -राष्ट्रिय जनगणना २०७८ आज देखि सुरु भएको छ । हरेक १० वर्षमा हुने जनगणनाको यो १२ औं श्रृंखला हो ।
आज विहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको लगत लिएर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार राष्ट्रपतिको लगत लिनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयाल,विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ सहितको टोली शितल निवास जाँदैछ । राष्ट्रपतिको भण्डारीको गणक महानिर्देशक श्रेष्ठ हुनुहुनेछ ।
आजबाट १५ दिन अर्थात कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा देशका सबै घरमा गणकहरु पुग्नेछन् । यसका लागि केन्द्रीय तथ्यांक विभागले ४० हजार गणक परिचालन गरेको छ । यसैगरी गणकको कामलाई अनुगमन गर्न,वडा कार्यलयहरुमा सामुदायिक प्रश्नावली भर्नका लागि ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो पहिलो जनगणना हो । यस जनगणनाले संघीयताको मर्म अनुसार सेवाहरु विकेन्द्रीत भए नभएको,नागरिकहरुको जीवन स्तरमा के कस्तो परिवर्तन भयो यी कुराहरुका वास्तविक अवस्था झल्काउनेछ ।
नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९६८ सालबाट जनगणना लिने कार्य प्रारम्भ गरेका थिए ।
प्रतिक्रिया