काठमाडौं – आजबाट देशभर राष्ट्रिय जनगणना शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।
देशभर जनगणना लिन घरघरमा गणकहरु खटिएका छन् । तर, राष्ट्रपति भण्डारीको परिवारको जनगणना लिन भने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकहरुसहित शीतलनिवासमा आफैँ उपस्थित भएका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयमले जवाफ दिनुभएको थियो ।
बिहान ९ बजे गणक टोली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरेको हो । राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।
राष्ट्रपतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिँदै छ । साँझ ५ बजे एमाले अध्यक्ष ओलीको जनगणना लिने कार्यक्रम छ । साथै देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
आजबाट शुरु भएको जनगणना १५ मंसिरसम्म चल्नेछ । विभागका अनुसार जनगणना लिन देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक परिचालन गरिएको छ । २०७२ सालमा नेपालको संविधान जारी भएपछि लिइएको यो पहिलो जनगणना हो । जनगणना हरेक १० वर्षमा हुँदै आएको छ ।





प्रतिक्रिया