जुम्ला – कर्णाली प्रदेशको केही जिल्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले वनका गोठ भत्काउने अभियान थालेको थियो । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिलाको वनमा रहेका गोठ भत्काउने अभियान थालेको थियो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।
अभियानले महिनावारी हुँदा वनको गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ । अझै पनि केही महिला छुई हुँदा गोठमा गाईवस्तुसंगै बस्न बाध्य छन् । तिलागाउपालिका–१ की रारालिहीँ गाउँकी दुर्गा बुढाले भन्नुभयो, ‘तर, हामीले भने अब स्वास्थ्यलाई दाउमा राखेर गोठमा बस्न सकिँदैन भनेर दुई वर्षदेखि घरको एक कोठामा छुई भएको बेला बस्ने गरेकी छु ।’ उहाँले भन्नुभयो, ‘गोठमै बसेर धेरै वर्ष बिते, श्रीमानको प्ररेणाले अब घरमै बस्न थालेकी छु ।’ छुई हुँदा यहाँ तीनदेखि सात दिनसम्म बार्ने चलन छ ।
तिला गाउँपालिका र सर्वोदय नेपालले गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुईगोठमुक्त अभियान बारे छलफल चलाएपछि रारालिहीँ र लिहीगाउँलाई बुधबार छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ । स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको अध्यक्ष योगीको भनाइ छ ।
तिलागाउपालिका–१ की कार्यपालिका सदस्य बाटु बुढाले भनिन्, छुई प्रथा महिलालाई दबाउन गरिएको कार्य हो । यो कार्य अहिलेको समाज सुहाउँदो छैन । अब हाम्रो सुरक्षाको लागि भए पनि छुई गोठमा होइन बस्न तयार भएका हौं,’ बुढाले भन्नुभयो, ‘अब हामी सबै महिला घरभित्रको एउटा कोठामै बस्न थालेका छौं ।’
जुम्ला तिला गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मै छुई गोठमुक्त गाउँ घोषणा गर्न सफल भएको उपाध्यक्ष बिष्णु बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले नै छाउपडी प्रथा अन्त्यका लागि निर्देशिका बनाएको छ । परम्परादेखि चलिआएको छुई प्रथा सबै मिलेर फ्याँक्नु पर्ने आश्यकता छ ।’
उहाँले धामीझाँक्री, सासुससुरा, पुरुष, किशोरकिशोरी सबैसँगको सहकार्यले मात्रै यो सम्भव हुने बताउनुभयो । ‘पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त बनाउने अभियान हो,’ उपाध्यक्ष बुढाले भन्नुभयो, ‘सर्वोदय नेपालसँगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासँग छुईगोठमुक्त गाउँ घोषण गर्न तयार भएको छ । यो अभियान तिलागाउँपालिका मात्रै होइन जुम्लाका आठै वटा स्थानीय तहमा चलाउनु पर्ने आवश्यक छ ।’
छुइगोठमुक्त गाउँ घोषणा गर्न यहाँका संरचना पनि बाँधक बनेको स्थानीय धामी बिक्रम परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश घर दुई कोठाका छन् । एउटा भान्सा, एउटा सुत्ने कोठा,’ परियारले भने, ‘आफैं छुई भयौं भनेर गोठमा जान्छन् । आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसँग जुध्न सक्ने संरचना निर्माणमा जोड दिने आवश्यक छ ।’ तर पनि केही वर्षयता गोठमा बस्ने चलन धमाधम हटेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताउनुभयो ।
घरमै सुरक्षित नहुने महिला गोठमा बस्दामा के हालत होला भनेर सबै मिलेर समाजका यस्ता कुसँस्कृति अन्त्य हुनु पर्ने निर्देशक खत्रीको भनाइ छ ।
प्रतिक्रिया