अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : सुवास नेम्वाङ

अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : सुवास नेम्वाङ


इलाम – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताउनुभयो । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो ।

‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भन्नुभयो, ‘संविधान फेर्ने चर्चा हुँन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दाबी गर्नुभयो । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन आग्रह गर्छु,’ नेम्वाङले भन्नुभयो ।

संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयारो झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । ‘हामीले निकै चुनौतिपूर्ण अवस्थामा संविधान बनायौ‌, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए,’ नेम्वाङले थप्नुभयो, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । ‘तपाईं जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भन्नुभयो,‘अब परिवर्तनको लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नु पर्दैन ।’

नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाउनुभयो । ‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुहोस, पार्टी मन पर्दैन पार्टी फेर्नुहोस्’, उहाँले थप्नुभयो, ‘दलहरू बहीखाता बोकेर चाडै तपाईंकोमा आउँदैछन् ।’ नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केही अप्ठयारो भएको जस्तो लागेको होला, तपाईंको फैसलाले देशलाई निकास दिन्छ ।’