चितवन – राष्ट्रिय जनगणनाको १२औं संस्करण आजदेखि शुरू भएको छ । जनगणना कार्यालयले खटाएका गणक र सुपरीवेक्षक आजदेखि ९ मंसिरसम्म घरघरमा खटिनेछन् ।
जनगणना कार्यालय चितवनका सूचना अधिकारी अर्जुन अधिकारीका अनुसार चितवन जिल्लामा २१० जना सुपरीवेक्षक तथा ८६७ गणक खटिएका छन् । उनीहरूले घरघरमा पुगेर विवरण संकलन गर्नेछन् । यसवर्षको जनगणनामा चितवन जिल्लामा जनसंख्या वृद्धि हुने अनुमान गरिएको छ ।
जिल्लामा सात वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । जिल्ला कार्यालयसहित भरतपुरमा एउटा, गीतानगर, चनौली–नयाँबजार, राप्ती र खैरहनीको संयुक्त रूपमा काम गर्ने गरी भण्डारामा, रत्ननगर, कालिका र इच्छाकामनामा काम गर्ने गरी रेडक्रसग्राममा र माडीमा कार्यालय स्थापना गरेर काम गर्दै आएको उहाँले बताउनुभयो ।
३० भदौदेखि १८ असोजसम्म सुपरीवेक्षकले संकलन गरेको विवरणलाई आधार मान्दा यसपटक चितवनको जनसंख्या करीब सात लाख ३० हजार पुग्ने अनुमान गरिएको छ । ‘सुपरीवेक्षकहरूले संकलन गरेको विवरणअनुसार १० वर्षमा चितवनमा घरधुरी संख्या बढेर करीब एक लाख ८० हजार पुगेको छ,’ अनुमानित तथ्यांकबारे जानकारी गराउँदै उहाँले भन्नुभयो । २०६८ सालमा चितवनको जनसंख्या पाँच लाख ७९ हजार ९८४ थियो ।
प्रतिक्रिया