अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

ताप्लेजुङको जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक


ताप्लेजुङ – ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि करीब ३०० गणक र सुपरीवेक्षक खटिएका छन् । आज बिहानदेखि नै सुरू भएको जनगणनाका लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएको हो ।

जिल्ला जनगणना कार्यालय ताप्लेजुङका अनुसार नौ स्थानीय तह र ६१ वडा रहेको जिल्लामा कुल २२९ गणक र ६१ जना सुपरीवेक्षक परिचालन भएका छन् । जिल्ला जनगणना अधिकारी मानबहादुर थापाले जनगणनाका लागि छनोट भएका सबै गणक र सुपरीवेक्षक आफ्नो कार्यक्षेत्रमा परिचालन भइसकेको जानकारी दिनुभयो ।

उहाँले एक जना सुपरीवेक्षक बराबार एकदेखि ६ जनासम्म गणक परिचालित भएको बताउनुभयो । उहाँका अनुसार सुपरीवेक्षकलाई पहिले नै विभिन्न चरणमा तालिम तथा अभिमुखीकरण गराइएको थियो । गणकलाई यही १३ देखि १६ कात्तिकसम्म चार दिन तालिम प्रदान गरिएको थियो । तालिमलगत्तै गणकहरू जनगणनाका लागि आवश्यक पर्ने फारामसहितका सामग्री लिएर कार्यक्षेत्रमा खटेका जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

जनगणनाका लागि खटेका सुपरीवेक्षक र गणकले आ-आफ्नो क्षेत्रमा बिहीबारदेखि नै काम थाल्ने पनि जिल्ला जनगणना अधिकारी थापाले जानकारी दिनुभयो । जनगणना कार्यालयका अनुसार जिल्लामा ३३ हजार घर सङ्ख्या रहेकामध्ये करीब २७ हजार घरधुरीमा मानिसको बसोबास रहेको छ । जनगणना २५ कात्तिक बिहीबारदेखि ९ मंसिरसम्म १५ दिन सञ्चालन हुनेछ । यसअघि २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार ताप्लेजुङको जनसङ्ख्या एक लाख २७ हजार ४६१ रहेको थियो ।