अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका संगठित सदस्य आठ लाख नाघ्यो, नौ जिल्लाको विवरण आउन बाँकी  

एमालेका संगठित सदस्य आठ लाख नाघ्यो, नौ जिल्लाको विवरण आउन बाँकी  


काठमाडौं – नेकपा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको काम चलिरहँदा एमालेमा संगठित सदस्य संख्याले ८ लाखको आँकडा नाघेको हो ।

नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबारसम्म पार्टीका संगठित सदस्य संख्या ८ लाख नाघेको जानकारी दिनुभयो ।

तामाङका अनुसार संगठित सदस्य सबैभन्दा धेरै मोरङमा रहेका छन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा संगठित सदस्य रहेका छन् ।

नेताहरु लालबाबु पण्डित, भानुभक्त ढकाल, विनोद ढकाल र घनश्याम खतिवडासहितका नेताको गृहजिल्ला मोरङमा ३३ हजार ९०० जना संगठित सदस्य रहेका छन् । उता अध्यक्ष ओलीको गृहजिल्ला झापामा संगठित सदस्य संख्या २७ हजार ४० रहेको छ ।

‘अहिलेसम्म देखिएको संगठित सदस्य संख्यामा सबैभन्दा बढी मोरङमा रहेका छन् । त्यसपछि झापामा रहेका छन्,’ तामाङले भन्नुभयो, ‘तर यो अन्तिम विवरण होइन । संगठित सदस्यको विवर अरु जिल्लाबाट पनि आइरहेकाले हामी कात्तिक २७ बिहानसम्म अपडेट गर्छौँ।’

एमाले केन्द्रीय कार्यालयका अनुसार देशका ७७ मध्ये नौ जिल्लाको अन्तिम परिणाम आइसक्न बाँकी छ। अहिलेसम्म ६८ जिल्लाको संगठित सदस्यको विवरण आएको छ । अहिलेसम्म संगठन विभागमा प्रदेश २ का सिरहा, सर्लाही, धनुषा र महोत्तरीबाट अन्तिम सूची आउन बाँकी छ। बागमती प्रदेशका काठमाडौं र सुदुरपश्चिम प्रदेशका बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आइसकेको छैन।