काठमाडौं– बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहीबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले बालकोटस्थित निवास पुगेर विवरण सङ्कलन गर्नुभएको हो । विवरण सङ्कलनका लागि विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने बालकोट निवास पुग्नुभएको थियो । अध्यक्ष ओलीको गणना लिने काम जिल्ला जनगणना कार्यलय भक्तपुरका प्रमुख पृथ्वी विजयराज सिजापतीले गर्नुभएको थियो ।
गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि अध्यक्ष ओलीलेले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गर्नुभएको थियो । ओलीले जनगणनाबाट आएको सही तथ्यांकले देशको विकासमा सहज हुने बताउनुभयो ।
महानिर्देशकसहितको टोलीले गणककारुपमा बिहीबार नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्याङ्क सङ्कलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ आजदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना आजदेखि आगामी मङ्सिर ९ गतेसम्म गरिनेछ ।
प्रतिक्रिया