बैतडी- कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ वटा काठेपुल निर्माण गरेका हुन् ।
नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका-६ का स्थानीय डम्मर साउँदले जानकारी दिनुभयो । विद्यार्थीहरूको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयहरूले काठेपुल निर्माण गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कात्तिक पहिलो साता परेको अविरल वर्षाले आरसीसी पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरूलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं ।’
नदीमा आएको बाढीले दुई ठाउँमा भएको आरसीसी पुल बगाएपछि स्थानीयहरूले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीयसमेत रहेका शिक्षक पदम साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरूले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भइरहेको छ ।’
गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरूलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका-७ का शंकरदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले हामीले तत्कालका लागि काठेपुल निर्माण गरेका हौं ।’





प्रतिक्रिया