अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु

ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु


ओखलढुंगा – ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा ज्यान गएको छ । सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करीब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएको हो । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमा पठाइएको छ । अन्य नौ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाको समेत ज्यान गएको बताइए पनि पहिचान हुन सकेको छैन ।

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारको मृत्यु  र दर्जन बढी घाइते भएपछि गाउँ नै शोकमा डुबेको छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शोकमा डुबेको सिद्धिचरण-१० का वडा अध्यक्ष दामोदर धमलाले बताउनुभयो ।