अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी जागिरसँगै तरकारी खेतीबाट मनग्य कमाउँछन् हिमबहादुर

सरकारी जागिरसँगै तरकारी खेतीबाट मनग्य कमाउँछन् हिमबहादुर


तेह्रथुम- तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन् । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गर्नुहुन्छ ।

२०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएका थापा आफैंले अर्गानिक रूपमा तरकारी खेती पनि गर्नुहुन्छ । ६ वर्षदेखि नेपाल सरकारको करारको रूपमा जागिर गर्दै आएका उहाँ यतिबेला तरकारी खेतीमा सक्रिय छन् । विदाको समयमा थापा आफ्नै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

लसुने बजार नजिकै पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका थापाले अर्गानिक तरकारी उत्पादनलाई जोड दिँदै आउनुभएको छ । समुद्री सतहदेखि करीब २३ सय मिटर उचाइमा उहाँले नेचुरल हाइटेक निर्माण गरी अर्गानिक तरकारी खेती शुरु गर्नुभएको हो ।

कृषि प्राविधिकको रूपमा लामो समय काम गर्दै आएका थापाले आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोगमा ल्याएको बताउनुभयो । ‘मसँग भएको दक्षता र क्षमतालाई प्रयोग गरी अर्गानिक रूपमा तरकारी खेती गर्दै आएको छु । मानव स्वास्थ्यका लागि स्वास्थकर हुनुको साथै बजारमा पनि राम्रो मूल्य पाउने भएकाले अर्गानिक तरकारी खेती गर्दै आएको छु,’ उहाँले भन्नुभयो ।

फिर्के साना किसान उघुउद्यम कृषि सरकारी संस्थामा आबद्ध थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत सहकारीको समन्वयमा पन्ध्र प्रतिशत आफ्नो लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गर्दै आउनुभएको छ । उहाँले  हाइटेकमा गोलभेडा, रायो, अकबरे, सयपत्री फूल, लसुनलगायतका तरकारी लगाउनुभएको छ । हाइटेकमा बेमौसमी गोलभेंडा फलाउँदै आएका छन् ।

यस वर्ष १३० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडा बिक्री भएको थापाले बताउनुभयो । उहाँनकी श्रीमती सम्झनाले घरमै अनिस कृषि भण्डार सञ्चालन गर्दै आउनुभएको छ । घरमै रहेको कृषि भण्डारसँगै तरकारी खेतीमा पनि उहाँ सक्रिय हुनुहुन्छ । सम्झना भन्नुहुन्छ, ‘घरमै कृषि भण्डार सञ्चालन गर्दै आएकी छु । यो सँगै तरकारी खेती हाम्रो मुख्य आम्दानीको स्रोत हो । बजारमा घर भए पनि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी लिँदै आएका छौं ।’ तेह्रथुममा पछिल्लो समय अन्नबालीभन्दा पनि नगदेबालीलाई किसानहरूले जोड दिँदै आएका छन् ।