अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मालेको महासचिवमा सिपी मैनाली पुनः चयन

मालेको महासचिवमा सिपी मैनाली पुनः चयन


चितवन – नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन हुनुभएको छ । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन हुनुभएको हो । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिनुभयो ।

‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छौं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उहाँले भन्नुभयो । केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उहाँको भनाइ छ ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमवार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी भएका थिए ।

मंगलवार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको बन्दका कारण मालेले स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य चयन गर्न भ्याएन । स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उहाँले बताउनुभयो । मालेको विधान अनुसार पोलिट व्युरो सदस्यमा केन्द्रिय कमिटीको एक तिहाई सदस्य रहने व्यवस्था छ ।

महाधिवेशनको बन्दसत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सबै कार्यपत्र सर्वसम्मतीले पास गरिएको घिमिरेले बताउनुभयो । असफल बेलायती संसदीय व्यवस्थालाई नेपालमा पनि खारेज गर्नुपर्ने नीति मालेले लिएको छ ।

११ पुष २०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुन् । उहाँ २०३९ सम्म मालेको महासचिव रहनुभयो । २०४७ सालपछि विभिन्न कम्युनिष्ट पार्टी र नेकपा मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो । २०५४ सालसम्म मैनाली एमाले मै हुनुहुन्थ्यो ।

११ फागुन २०५४ मा एमाले विभाजित भएपछि वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली पनि लाग्नुभयो । फागुन २०५८ मा वामदेव गौतमलगायतका नेता पुनः एमालेमा गएपछि मैनाली मालेमै रहेर पार्टी सुदृढिकरणको काम गर्दै आउनुभएको छ ।