चितवन- नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि व्यवसायीले छुट दिने घोषणा गरेका हुन् ।
नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । त्यसैले सौराहामा चहलपहल हुन शुरु भएको छ ।
एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताउनुभयो ।
एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रवन्ध मिलाइएको छ । सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ । होटलमा बास बस्नेलाई सवारी साधन त्यहीँ राख्न र हिँडेर बन्दसत्र स्थलसम्म जान भन्ने सूचना व्यवसायीहरुले दिने होटल सञ्चालक माधव दवाडीले बताउनुभयो ।
एमाले महाधिवेशनको बन्द सत्र सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने अन्य विभिन्न कार्यक्रम, गोष्ठी, विवाह, सेमिनारहरु रोकिएको क्षेत्रिय होटल संघका अध्यक्ष भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया