अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्छ : अध्यक्ष ओली

छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्छ : अध्यक्ष ओली


धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताउनुभयो ।

धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस रहेको आरोप लगाउनुभयो ।

२०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल कांग्रेसमा प्रवेश गरेकाले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । प्रचण्डसँग पार्टी एकता गरेका बेला तीन वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कांग्रेससँग मन्त्री मागेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको बताउनुभयो ।

सर्वोच्च अदालतमा भइरहेको विवादको विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायलयमा विवाद बढेको बताउनुभयो  उहाँले अहिले न्यायाधीश मुद्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप समेत लगाउनुभयो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन: सरकारको नेतृत्वमा आउने बताउनुभयो । नेपाललाई १० वर्षमा संसारका धनी देशसरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गर्नुभयो । उहाँले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएका र एक्ल्याउँदै जानुपर्ने बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले शहीद र तिनका परिवारलाई जहिल्यै सम्मान गर्ने र तिनका सपना साकार गर्न लागि पर्ने बताउनुभयो ।

शहीद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा पनि धनकुटाको छिन्ताङ आउनु भएता पनि समय अभावले बोल्न पाउनुभएन । कार्यक्रमलाई स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सम्बोधन गर्नुभएको थियो ।