काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताउनुभयो ।
मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताउनुभएको हो । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उहाँको भनाइ थियो ।
साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्नुभयो । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उहाँको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमता चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’
यस्तै नेतृत्वको कारण गर्दा कम्युनिस्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनुभयो । निर्वाचन पछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टहरुले मौका पाए र संविधानमाथि प्रहार गरेको भन्दै उहाँले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताउनुभयो । कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उहाँको तर्क छ ।
उहाँले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताउनुभयो । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने उहाँको धारणा थियो ।
‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो । नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ,’ उहाँले भन्नुभयो, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’
साथै उहाँले लोकतान्त्रिक पार्टीभित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टीभित्र सबैको सम्मान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफूले सधै पार्टीभित्र आवाज उठाउँदै आएको बताउनुभयो ।





प्रतिक्रिया