नेपालगंज – बाँकेका स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार ९४३ जना नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । राजपाका पूर्वसहमहामन्त्री मिश्र २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा सूर्य चिन्हबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
राजनीतिक रूपमा बलियो पकड भएका मिश्र राजपाका इस्तिहाक राईसँग ५ हजार ६०० मतको अन्तरले पराजित हुनुभएको थियो । केही प्रभावशाली नेतासहित ठूलो संख्यामा नेता-कार्यकता नेकपा एमालेमा प्रवेश गरेको एमाले नेता देवराज भारले जानकारी दिनुभयो ।
नेपालगंजमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । आज विभिन्न दलबाट एमाले रोजेका नेता-कार्यकर्ता तथा पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने घोषणा समेत गर्नुभयो ।
मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेतारकार्यकर्ता पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य मो. हारुनले जानकारी दिनुभयो ।















प्रतिक्रिया