अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षमा ओलीको विकल्प छैन,पदाधिकारीमा भन्न सकिन्न : कर्ण थापा

अध्यक्षमा ओलीको विकल्प छैन,पदाधिकारीमा भन्न सकिन्न : कर्ण थापा


धनगढी -नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्विकल्प रहेको बताउनुभएको छ ।

प्रेस चौतारी कैलालीले बुधबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा थापाले केपी ओली अध्यक्षमा सर्वसम्मत चयन हुने बताउनुभयो । ‘अध्यक्षमा केपी ओली निर्विकल्प हुनुहुन्छ । उहाँ नै सर्वसम्मत बन्नुहुनेछ,’ थापाले भन्नुभयो, ‘पदाधिकारीसहितका अन्य पदका विषयमा अहिले यस्तै हुन्छ भन्ने सकिने अवस्था छैन ।’
थापाले सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको जानकारी दिए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन प्रक्रिया तथा अन्य सबै ठाउँमा सर्वसम्मत रुपले प्रतिनिधि चयन गरिएको थापाले बताउनुभयो ।

सुदुरपश्चिमका ९ जिल्लाबाट १ सय ६४ जना महाधिवेशन प्रतिनिधि छनोट भएपनि प्रमाणीकरण गर्न र केही प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले नामावली अहिले नै सार्वजनिक गर्न नमिल्ने थापाको भनाइ छ ।

कैलालीमा उपाध्यक्ष भीम रावल पक्षले महाधिवेशनमा समानान्तर प्रतिनिधि पठाउने तयारी गरिरहेको विषयमा बोल्दै थापाले त्यसले वैधता नपाउने प्रतिक्रिया दिए ।

पार्टी विभाजनका बेला भीम रावल पक्षले एकलौटी रुपमा कब्जा गरेको नगद तथा अन्य भौतिक सम्पत्ति पनि फिर्ता गर्ने प्रतिवद्धता एकीकृत समाजवादी पार्टीले गरेको थापाले जानकारी दिनुभयो ।

‘हाम्रो पार्टीको खातामा रहेको ३७ लाखमध्ये तीन लाखबाहेक सबै रकम कब्जा गरेर लगिएको थियो,’ थापाले भन्नुभयो, ‘अहिले उहाँहरुले हामी फिर्ता गर्छौं भन्नुुभएको छ । तत्काल २४ लाख र अन्य रकम पछि दिने कुरा छ । फर्निचर लगायतका भौतिक सम्पत्ति भने फिर्ता भइसकेको छ ।’