काठमाडौं– नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्य छनौटका लागि चुनाव होला कि सर्वसम्मत ? यो विषय अहिले एमालेका आकांक्षी मात्र हैन आम कार्यकर्ता र जनतामा पनि बहसको बिषय बनेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले कुनै पदमा कसैलाई पनि ‘ग्रीन सिग्नल’ नदिएकोले नेताहरु एकातिर उहाँलाई रिजाउने अर्कोतिर प्रतिनिधिसँग संवादमा बसेर चुनावको तयारी गर्ने रणनीति अपनाएका छन् ।
धेरै आकांक्षीको चाहना छ आफू सहितको सर्वसम्मत टिम बनोस । तर आफू टिममा नपरे जसरी पनि चुनावमा जानु पर्छ,कार्यकर्ताका बीचमा नेताको परीक्षण हुनुपर्दछ भन्ने माग अधिकांस आकांक्षीमा देखिन्छ । महाधिवेशनको तिव्र तयारी भइरहेका बेला अध्यक्ष ओली अन्य पार्टीबाट एमाले प्रवेश गराउन भन्दै देश दौडाहामा हुनुहुन्छ । कतिपय नेताहरुको भनाइमा अध्यक्ष ओलीले नेताहरुसँग महाधिवेशन तयारीको बारेमा नियमित रिर्पोटिङ लिनुहुन्छ तर नेतृत्वको बिषयमा छलफल गर्नुभएको छैन । ‘अध्यक्षज्यूलाई पार्टीको हितका लागि ल्याउनु पर्ने नेतृत्वको बिषयमा हामीले पटक पटक सुझाव दिएका छौं’ केन्द्रीय सदस्य हिक्मत कार्की भन्नुहुन्छ ‘तर हालसम्म उहाँले कसैले ग्रीन सिग्नल दिनुभएको छैन ।’
एमालेमा अहिले तीन ध्रुवका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने चुनौति छ । पहिलो पार्टीको संस्थापन पक्ष, दोस्रो पूर्व माओवादीबाट आएको समुह र तेस्रो १० बुँदे पक्षधर १० जना नेताको समूह । ‘अध्यक्षले तीनै पक्षका नेताहरुको भूमिका,कार्यकर्तामा उनीहरुको लोकप्रियता,विगतको भूमिका,चरित्र र अन्य आनीबानीको विष्लेषण गर्र्दैहुनुहुन्छ’ एमालेका एक स्थायी समिती सदस्य भन्नुहुन्छ ‘दोस्रो र तेस्रो पक्षको चाहना सर्वसम्मत नेतृत्व होस भन्ने छ ,पहिलो पक्ष चुनाव मै जानु पर्छ भन्ने पक्षमा छ । त्यसैले सैद्धान्तिक रुपमा चुनाव वा सर्वसम्मत भन्ने टुंगो लागेपछि व्यक्तिको खोजी हुन्छ ।’
जिल्ला भ्रमण देखि राजधानीमा हुँदा पनि अध्यक्ष ओलीसँग धेरै समय सम्पर्कमा रहने नेता सुवासचन्द्र नेम्वाङ पनि कुन पदमा कस्को व्यवस्थापन होला त भन्ने जिज्ञासामा ‘खै अध्यक्ष बोल्नुभएको छैन’ भन्ने प्रतिक्रिया दिनुहुुन्छ । नेम्वाङ स्वयं उपाध्यक्षका दाबेदार भए पनि अहिलेसम्म कुनै संकेत नपाएको बताउनुहुन्छ ।
एमालेको हार्डलाइनर समूह चुनावमा गएर दोस्रो र तेस्रो पक्षलाई पार्टीको सत्ताबाट बाहिर राख्न चाहन्छ । यो समुहमा संसदीय चुनाव नभिडेका,भिडे पनि पराजित भएका र अध्यक्ष ओलीलाई ‘वान साइडेड रिर्पोटिङ’ गरेर पार्टीको कोर सत्तामा बसेकाको एउटा सानो समुह छ । संस्थापन कै अर्को समुह जो संसदीय चुनाव फेस गरिरहेको छ । आगामी चुनावमा पनि थप मजुबद भएर जाने तयारीमा छ त्यो समुह पार्टीको दोस्रो र तेस्रो पक्षलाई समेटेर लैजानु पर्दछ भन्ने पक्षमा लविङ गरिरहेको छ । यो समुहमा एमालेको दोस्रो धारका नेताहरु सक्रिय छन् । उनीहरुले अध्यक्ष ओलीलाई सुझाएका छन् – ‘पदाधिकारीमा भीम रावल र घनश्याम भुुसालहरु पनि छुट्नु हुदैन ।’ पछिल्ला दिनमा कैलालीमा भीम रावलले प्रतिनिधी छनौटका बिषयमा अनेक विवाद झिकेपनि दुई दिन यता अध्यक्ष ओलीसँग सम्र्पकमा रहेका ति नेताहरुको दाबी छ । उनीहरुले रावललाई उपाधक्ष्य र भुसाललाई उपमहासचिव मै दोहोर्याउन सुझाव दिएका छन् ।
बालकोट स्रोतका अनुसार उपाधक्ष्यसम्मको व्यवस्थापनमा खासै कठिनाइ नभए पनि त्यसभन्दा मुनीका पदमा आकांक्षीलाई व्यवस्थापन गर्न अध्यक्षले अनेक विकल्पमा योजना बनाइ रहनुभएको छ । पार्टी भित्र समावेशीताको माग चर्किएका बेला उक्त समुदायका अनुहार सहितको कमिटी बनाउन ओलीले गृहकार्य गरिरहनु भएको छ । सबै पदहरुमा सर्वसम्मत गर्दा पनि कमिटी धेरै चलायमान नुहने विगतमा विभिन्न जनसंगठनका अभ्यासले देखाएको बिषय अध्यक्ष ओली जानकार हुनुहुन्छ । ‘यी सबै अवस्था हेरेर सकेसम्म महासचिवसम्म सर्वसम्मत गर्ने नभए महासचिव देखि सचिव र केन्द्रीय सदस्यसम्म चुनाव गराउने रणनीति हो कि जस्तो बुझिन्छ’ एक नेताले भन्नुभयो ।
अधिकांस प्रतिनिधी संस्थापन पक्षका आएकोले चुनावमा भिडाउदा पनि ‘आफ्नै’ आउने भएकोले नेताको ‘हैसियत’ जाँच्ने मनसायमा पनि अध्यक्ष रहेको बालकोट निकट नेताहरु बताउछन् । तर १० बुँदे पक्षधर नेताहरु चुनाव भएको खण्डमा आफूहरु पराजित हुने त्रासमा छन् । त्यसैले अध्यक्षले आफूहरु सहितको कमिटी घोषणा गरेर आउन लागेका स्थानीय र संसदीय चुनावमा पार्टी एकताको सन्देश दिने अपेक्षामा छन् ।
१० बुँदेका पक्षधर एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराई एमालेसँग केही एतिहासिक कार्यभार भएकोले त्यसलाई हासिल गर्नका लागि पार्टी एकतावद्ध हुनुपर्ने बताउनुहुन्छ । ‘एमालेले थप शक्ति आर्जन गरेर समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्न पार्टी बहुमतका साथ सरकारमा जानु पर्ने हुन्छ’ भट्टराई भन्नुहुन्छ ‘त्यसका लागि पार्टी एकतावद्ध हुनुपर्दछ । त्यसको अभिव्यक्ति महाधिवेशनले चयन गर्ने नेतृत्वमा हुन्छ । यसमा अध्यक्षको ध्यान जान्छ भन्नेमा हामी विश्वस्त छौं ।’
भट्टराई भन्नुहुन्छ, ‘पार्टी एकताको सन्देश महाधिवेशनमा चयन हुने नेतत्ृवले दिन्छ । यसमा सबै बिचार र प्रवृतिका मानिसहरु समेटिनु पर्दछ ।’ उनीहरुले अध्यक्ष ओलीलाई आफूहरुलाई समेटे माधव नेपालसँग गएका धेरै नेता कार्यकर्ता एमालेमा फर्काउने बचन ओलीलाई दिएका छन् । ‘पहिला आफू सुरक्षित हुनुप¥यो अनि माधव नेपालसँग गएकाहरुलाई फर्काउन सकिन्छ’ १० बुंदे पक्षधर एक स्थायी समिती सदस्य भन्नुहुन्छ ‘पार्टी भित्र आफैंले हैसियत कायम गर्न नसके बाहिरकाले कसरी पत्याउछन् ?’
यता पूर्व माओवादीबाट आएको समुह ओलीले आफूहरुलाई जसरी पनि समेट्ने आशमा ढुक्क छन् । केन्द्रीय सदस्य प्रभू साह आफूहरुले अध्यक्षसँग कुनै पदको दाबी नगरेको बताउनुहुन्छ । ‘एमालेलाई हामीले नेकपाको निरन्तरता भनेका छौं । नेकपाको निरन्तरता हुन कस्ता फेस नेतृत्वमा ल्याउनु पर्दछ भन्ने कुरा अध्यक्षले बुझ्नु भएको छ,’ साहले नेपाली बहस डट कमसँग भुन्नुभयो ।
साहको भनाइमा आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउन अध्यक्ष ओलीमा पार्टी केन्द्रित गर्नुपर्ने हुन्छ । ‘केन्द्रिकृत र सहमतीय नेतृत्व एमालेको आवश्यकता हो,’ साहले भन्नुभयो ‘त्यसैले जे सुकै नाम दिए पनि यसपालीको महाधिवेशन एकताको महाधिवेशन र अध्यक्ष ओलीमा शक्ति केन्द्रित गर्ने महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्दछ ।’





प्रतिक्रिया