भोजपुर – जिल्लालाई उत्तर-दक्षिण जोड्नका लागि कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल भाँचिएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भाँचिएको हो ।
दुवैतिर पैदल हिँड्न मिल्ने गरी ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइमा पुलमा बनाउन लागिएको थियो । प्राविधिकले भूकम्प प्रतिरोधी पुल निर्माण गर्न लागिएको बताए पनि निर्माणको क्रममा नै पुल भाँचिएको छ।
जिल्लालाई उत्तर–दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै क्रममा ढलेपछि स्थानीय निराश बनेका छन् ।
पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीय आशावादी छन् ।
भोजपुरलाई तराई जिल्लासंग जोड्ने सवैभन्दा छोटो सडक मार्ग हो । यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई गरी १० वटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौंबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।







प्रतिक्रिया