काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्राडा पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।
कँडेल यसअघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।
डा.कँडेल पाँचौं र छैठौंमा सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी ११औं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनेछन् ।
त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेल केपी ओली नेतृत्वको पछिल्लो सरकारमा ३९ महीना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । लेखाआयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो । यसले पार्टीको आर्थिक अनुशासन र नियमनकारी निकायको भूमिका निर्वाह गर्दछ । पार्टीको पाँचौ महाधिवेशनबाट आयोगको सुरुवात भएको हो ।
पार्टीको लेखा प्रणालीलाई व्यवस्थित गर्नका लागि तत्कालिन महासचिव मदनकुमार भण्डारीले आयोग गठन गर्नुभएको थियो । पाचौं महाधिवेशनमा तीन जनाबाट सुरु भएको सो आयोग दशौं महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ । सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरु केन्द्रीय कमिटी सदस्य सरहको मान्यता हुन्छ ।
दशौं महाधिवेशनमा आयोगमा उपाध्यक्ष विष्णु पन्थी, सचिवमा शिव अधिकारी र सदस्यहरुमा क्रमशः इश्वरी प्रसाद खरेल, कोमल भट्टराई, खटक बहादुर (पिबी) गोले, खम्बबहादुर खत्री, घनेन्द्रराज घिमिरे, धनबहादुर विश्वकर्मा, भिमलाल पौडेल, मस्तबहादुर गरन्जा, मिनराज कँडेल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकरबहादुर कार्की खुल्लातर्फ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महिला तर्फ कल्पना लिम्वु, जसमाया गजमेर, पद्धमा जिसी श्रेष्ठ, बसुन्धरा रोकाय, मालती कुमारी लिम्बु, विजया धिताल, विमला केसी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।







प्रतिक्रिया