अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोटरीले क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन भ्यान खरिद गर्ने

रोटरीले क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन भ्यान खरिद गर्ने


बुटवल – रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१-२२ का लागि चारवटा परियोजनाको काम अगाडि बढाएको हो । जसमा क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् ।

रोटरी क्लब अफ बुटवलको २९औं चार्टर्ड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिएको हो  । जसअन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्राडा ताराप्रसाद उपाध्यायले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर  मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । “यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदैछ”, उहाँले भन्नुभयो । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरूलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी ब्लड कलेक्सन मोबाइल भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करीब ६५ लाखको लागतमा भ्यान खरिदको प्रक्रिया अघि बढेको र अब छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्सन गरेर निश्चित तापत्रममा राख्न सकिने व्यवस्थासमेत भएकोले निकै नै भरपर्दो हुने छ ।

रोटरीले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करीब ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानँ गर्ने उपाध्यायले बताउनुभयो । यसका अतिरिक्त गरिब तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।