काठमाडौं– आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए पनि एमाले नेता भीम रावलले शपथ लिनुभएन ।
उपाध्यक्षमा पराजित भए पनि रावल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पदाधिकारीमा उम्मेदवार हुनेको स्वतः केन्द्रीय सदस्यमा समेत उम्मेदवारी रहन्थ्यो ।
रावलले आफू उपाध्यक्षमा पराजित भएकाले केन्द्रीय सदस्य पनि अस्वीकार गर्ने भन्दै शपथ लिनुभएन ।
२०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा गठबन्धन सरकार बनेपछि रावललाई गृहमन्त्रीको अफर आयो । गृहमन्त्रीको शपथ लिने अघिल्लो दिन रावलले बल्खुस्थित एमाले पार्टी कार्यालय पुगेर तत्कालिन अध्यक्ष झलनाथ खनालबाट शपथ लिनुभयो ।
रावलले शपथ लिएपछि पत्रकारलाई भन्नुभएको थियो, ‘म छुटेकाले शपथ लिन पाएको थिइनँ, अहिले अनुकूल समयमा शपथ लिएको हो, केन्द्रीय सदस्य पद अस्वीकार गरेको थिइनँ ।’
१० औं महाधिवेशनमा उही कथा दोहोरिएीको छ । नेकपा एमालेको अध्यक्षमा पराजित रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्नुभएको थियो ।
मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित हुनुभएको थियो । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिए पनि रावलले शपथ लिन मान्नुभएन। आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने उहाँको भनाइ छ ।
उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिनुभएको छ ।
रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे पनि कुनै दिन अर्को अवसर आएमा शपथ लिने अनुमान गरिएको छ ।
कतिपय विषयमा तत्कालै निर्णय गर्ने, पछि हट्ने, कडा हुने, नरम हुने उहाँको राजनीतिक स्वभाव छ । जस्तो कि, प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिनुभएका रावलले सभामुखलाई भेटेरै आफ्नो राजीनामा पत्र वापस लिनुभएको थियो ।







प्रतिक्रिया