काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गर्नुभएको छ । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उहाँले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताउनुभएको हो ।
महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ ? भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाउनुभएको हो ।
भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो । २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो ।
महाधिवेशनको उद्घाटन गर्दै उहाँले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताउनुभयो । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । सोही क्रममा उहाँले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताउनुभयो । यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उहाँले बताउनुभयो ।
उहाँले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताउनुभयो । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो।
यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए । तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताए ।
उनले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताए । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताए । उनले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए ।





प्रतिक्रिया