काठमाडौं – भारतमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुष्टि भएको हो । कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । दुई पुरुषमा संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।
अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।
ओमिक्रोन भेरियन्ट गत दिनअघि दक्षिण अफ्रिकामा फेला परेको हो। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन्। युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्।
प्रतिक्रिया