अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ए डिभिजन लिग खेलाइरहेका रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने

ए डिभिजन लिग खेलाइरहेका रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिनुभएको छ ।

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन्। जारी लिग खेलाइरहेका सात रेफ्रीले एन्फा अध्यक्ष कर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि नौ रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका थिए।

यसअघि एन्फाले गत डिसेम्बरमा नै १० पुरुष र दुई महिला गरी १२ रेफ्रीको फिटनेश टेष्ट गरी फिफा ब्याज नविकरण गरेको थियो । तर, लिग दौरान एन्फा अध्यक्षसहित एन्फा रेफ्री डाईरेक्टर गौतम कौरले पुनः टेष्ट मागेपछि आफुहरूले राजीनामा दिएको एक रेफ्रीले बताउनुभयो ।

‘हाम्रो डिसेम्बरमा मात्र टेष्ट भएको हो । अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर, हामीले समय पनि मागेका छौं । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा राजनीति गर्ने भनेर हामीविरुद्ध नै लाग्नुभयो । त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं’,  रेफ्रीले भन्नुभयो ।

राजीनामा बुझाएका सात  रेफ्रीले सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरू हुँदै गर्दा सो खेलहरु समेत नखेलाउने निर्णय लिएका छन् । उनीहरूले एन्फाको त्यो निर्णय आफूहरूलाई मान्य नहुने र लिगका खेल बहिस्कार गर्ने समेत बताएका छन् ।

यस पटक एन्फाले लिगका लागि १० फिफा रेफ्रीसहित २० रेफ्रीलाई लिगको खेलाउने जिम्मेवारी दिएको छ।

राजीनामा पत्र बुझाउने रेफ्रीहरू

प्रकाश नाथ श्रेष्ठ

नविन्द्र मर्हजन

प्रज्वल क्षेत्री

नानीराम थापा मगर

सहदेव श्रेष्ठ

युनाल मल्ल

किशन कन्हैया यादव