जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताउनुभयो ।
बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुमतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताउनुभयो । संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भन्नुभयो, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्लै उम्मेदवारी दिनुपर्छ ।’
पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राख्नुभएको थियो ।





प्रतिक्रिया