सिमकोट -हुम्ला सदरमुकाम सिमकोटमा हिमपात भएपछि हवाइ उडान बन्द भएको छ। हिमपात भएपछि बिहीबार सिमकोट विमानस्थलबाट उडान तथा अवतरण हुन सकेन। उडान नहुँदा नेपालगञ्जबाट सिमकोट आउने तयारीमा रहेका यात्रुको बिचल्ली भएको छ।
हिमपातसँगै सिमकोटमा बिहीबार वर्षासमेत भएको छ। हिमपातका कारण लिमीका तीनवटा गाउँ जाङ, हल्जी र तिलाका नागरिकलाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ।
हिमपातले चिसो बढ्दा स्थानीय बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले जानकारी दिनुभयो। हिमपातका कारण यस वर्ष मङ्सिरमै चिसो बढेको छ ।
त्यस्तै सिमकोटभन्दा माथिको भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताउनुभयो।
प्रतिक्रिया