काठमाडौं – कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो ।
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छन् । त्यस्तै ‘बी प्लस’ ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । त्यसैगरी ‘बी ग्रेड’ ल्याउनेमा ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ ।
७५ हजार ८८ जना परीक्षार्थीले ‘सी प्लस’ ग्रेड ल्याएका छन् । ‘सी’ ल्याउनेमा २४ हजार ५१५ जना छन् । त्यस्तै ‘डी प्लस’ ल्याउनेमा ३ हजार ८७५ परीक्षार्थी छन् भने ‘डी प्लस’ ल्याउनेमा २९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले ‘इ’ ल्याएका छन् ।
कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।
रिजल्ट कसरी हेर्ने ?
रिजल्ट हेर्न NEB लेख्ने, एक स्पेस लिएर सिम्बोल नम्बर राख्ने अनि १६०० मा एसएमस गर्न सकिने छ । वेब पेजमार्फत हेर्नका लागि https://www.ntc.net.np/ मा गएर सिम्बोल नम्बर र जन्म मिति राखेर सर्च गर्दा पनि रिजल्ट थाहा पाउन सकिने छ । अथवा ल्याण्ड लाइनबाट १६०१ डायल गरी दिइएको निर्देशनअनुसार रिजल्ट बुझ्न सकिन्छ ।
प्रतिक्रिया