अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङको एउटै विद्यालयमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङको एउटै विद्यालयमा २६ जनामा कोरोना संक्रमण पुष्टि


बागलुङ – बागलुङको एक विद्यालयका २६ जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोभिड संक्रमण देखिएको हो ।

कोभिडको जस्तै लक्षण देखिएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार र बिहीबार परीक्षण गरेको थियो । ८१ जनाको पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो ।

विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताउनुभयो ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कोरोना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।

वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताउनुभयो ।