अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगु एक सातादेखि अन्धकार, मोबाइल चार्ज गर्न समेत १०० रूपैयाँ

मुगु एक सातादेखि अन्धकार, मोबाइल चार्ज गर्न समेत १०० रूपैयाँ


मुगु – हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नुपर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको एक सय रूपैयाँ लिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २-२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेशिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेको छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन्।

एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दे आई रहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए । मोबाईल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेको स्थानीय मणिचन्द्र भामले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगज प्रमुख र नेपाल विद्युत प्राधिकरणक निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएको बताउनुभयो । विद्युत नियमित गर्न पहल पनि भइरहेको उहाँले बताउनुभयो । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुन: चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमि गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

जेनेरेटरको बेरिङ्ग, एक्साईटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो । विद्युत सञ्चालनको लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएको छ । नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अठ्किएको गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताउनुभयो ।