अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसकारण बढ्दो छ पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी

यसकारण बढ्दो छ पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ ।

थापाको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल थापाबीच सम्बन्ध समुधुर रहेनछ। यो स्वयं थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको सामाजिक सञ्जालमार्फत पुष्टी नै गरेर लेखिदिनुभयो– ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु, बधाई छ ज्ञानेन्द्र शाह र धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु ।’

थापा यतिमा नै रोकिएका छैनन् । राजा ज्ञानेन्द्र शाह र संवैधानिक राजतन्त्रका लागि गरेको योगदानको पनि स्मरण गराउँदै अगाडि आक्रोश पोख्नभएको छ, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेन्डाको मुलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना ।’

सार्वजनिक रूपमा नै पूर्वराजा र थापाबीचको सम्बन्ध बिग्रिएको पुष्टी भए पनि यो आज आएर बिग्रिएको होइन्, यो सम्बन्ध बिग्रिएको संविधान निमार्णताकादेखि नै हो।

पूर्वराजानिकट एक नेता भन्नुहुन्छ, ‘दोस्रो संविधानसभामा २५ सिट ल्याउँदासम्म राजा र थापाजीको सम्बन्ध राम्रो थियो । तर, त्यत्रो सिट ल्याउँदा पनि संविधानसभामा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पक्षमा माहोल बनाउन नसकेपछि राजा रिसाउनुभएको थियो ।’

पूर्वराजा शाहले संविधानसभाभित्र कांग्रेस तथा तराई मधेस केन्द्रित् दललगायत भित्र राजतन्त्रवादी र हिन्दुवादीहरू रहेको उल्लेख गर्दै तिनलाई आफ्नो अजेन्डामा जोडबल गर्न आग्रह गर्नुभएको थियो ।

तर, थापाले अन्य पार्टीका नेताहरूलाई ‘कन्भिन्स’ गर्नुको सट्टा आफ्नै एजेन्डामा टिक्न नसकेपछि पूर्वराजा शाह रिसाउनुभएको थियो । दोस्रो संविधानसभामा थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो । तर, पूर्वराजा ज्ञानेन्द्रलाई त्यो चित्त बुझेको थिएन ।

‘कम्तिमा हिन्दु राज्यलाई संविधानसभावाट नयाँ संविधान कायम गर्न सकेको भए, संवैधानिक राजतन्त्रको मुद्दा दोस्रो चरणमा सफल हुन्छ भन्ने विश्वास राजाको थियो । त्यसमाथि छिमेकी भारत पनि हिन्दु राज्यको पक्षमा रहेको विषयलाई राजाले थापालाई ध्यानाकर्षण गराउँदा पनि उहाँ त्यसतर्फ पाइला चाल्नुभएन’, पूर्वराजानिकट नेताले भन्नुभयो ।

दोस्रो, भारतीय नाकाबन्दीको विरोध र चीनसँग पारवहन सम्झौताले तत्कालीन राप्रपाको हैसियतलाई उचाइमा लगे पनि पछि नाकाबन्दीको डटेर सामना गर्ने तत्कालीन केपी ओलीको सरकार ढलेपछि नयाँ सरकारमा गएको पनि पूर्वराजाको चित्त बुझेको थिएन ।

‘भारतीय नाकाबन्दीको डटेर सामना गरेको तथा चीनसँग पारवहान सम्झौता गरेकोमा राजा खुसी पनि थिए’, शाह निकटले एक नेताले भन्नुभयो, ‘भारतीय नाकाबन्दीको डटेर सामना गर्ने सरकारलाई प्रचण्ड र देउवाले ढालेकोमा राजा खुसी थिएनन् । तर राजाले रोक्दारोक्दै पनि थापाजीहरू प्रचण्ड सरकारमा जानुभयो, राजा झन् रिसाउनुभयो ।’

उहाँका अनुसार राजाको बुझाइअनुसार ‘भारतीय डिजाइनमा बनेको प्रचण्ड सरकार’ पदका लागि जानु हुँदैन्थ्यो, यो स्वयं राजाले थापालाई बोलाएर रोक्न खोज्नुभएको थियो । तर, थापा रोकिनुभएन ।

अन्ततः पूर्वराजाको आपत्ति रहँदारहँदै पनि प्रचण्ड नेतृत्वको सरकारमा गएपछि पार्टीको छवि बिग्रिएको निष्कर्ष निकाल्दै पूर्वराजा ज्ञानेन्द्रले सन्देश पठाएपछि स्वयं थापाले सार्वजनिक रूपमा नै लेख लेखेर प्रचण्ड सरकारमा जानु गल्ती भएको भन्दै आत्माआलोचना गर्नुभएको थियो । तर, थापाको सार्वजनिक आत्माआलोचनाले पूर्वराजाको चित्त बुझिरहेको थिएन ।

यी घटनाले पूर्वराजा शाह र थापाबीच भेटघाट नै लगभग बन्द भएको अवस्था थियो । सार्वजनिक कार्यक्रमबाहेक पूर्वराजा र थापाको यस ६ वर्षमा भेट नै भएन भने पनि हुन्छ, पूर्वराजा निकटहरू भन्छन् ।