अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार असफल भइसक्यो, अब नयाँ निर्वाचनतर्फ जानुपर्छ : सचिव महासेठ

गठबन्धन सरकार असफल भइसक्यो, अब नयाँ निर्वाचनतर्फ जानुपर्छ : सचिव महासेठ


काठमाडौं – नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनै पनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव महासेठले अहिले ताजा जनादेशको आवश्यकता औंल्याउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ ।’

गठबन्धन सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हुने खालको काम गरेको छैन । स्वास्थ्य, शिक्षा, तथा विकासको निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही ढंगले अघि बढेको छैन । यो गठबन्धनको सरकार असफल भइसकेको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बुझेका छन् ।’

सचिव महासेठले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । निर्वाचनमा जानु पर्ने माग हामीले गरिसकेका छौं । जतिसक्दो चाडो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् । एमाले जहिले पनि जनताको बीचमा जान तयार छ । यो कुरा अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ । उहाँले सत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो ।’

महासेठले वर्तमान सरकारले कोभिडविरुद्धको खोपको व्यवस्थापन पनि गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसीर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिनुभयो ।