काठमाडौं – राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताउनुभएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानूनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गर्नुभयो ।
नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ ।
यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिनुभयो ।
आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताउनुभयो ।
राप्रपामा थापाले पु¥याएको योदानको उच्च रहेको भन्दै उहाँले निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताउनुभयो ।
कुनै तुष भए त्यसलाई फ्यालेर देश र जनताको हितमा काम गर्न सबै मिलेर अघि बढनुपर्ने लिङ्देनको भनाइ छ । कार्यक्रममा कमल थापा नआएकोमा खल्लो महसूस गरेका लिङ्देनले भन्नुभयो, ‘आजको यस कार्यक्रममा कमल थापा आउनुभएको भए सुनमा सुगन्ध हुने थियो ।’
अब राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उहाँको भनाइ छ । चुनौतीलाई अवसरको रूपमा लिएर राप्रपालाई देशको अग्रणी पार्टी बनाएर लैजाने बताउँदै उहाँले पार्टीको एजेण्डा स्थापित गराउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाएका लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताउनुभयो । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको छ ।
युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एक दिनमात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको भन्दै उहाँले भन्नुभयो, ‘अब पार्टीमा कुनै गुट छैन । अब हामी हिजोको कुरा लिएर हिँड्दैन । सबै यही बिर्सिएर जान्छौँ । म विरुद्ध मतदान गरेका साथीहरूले कुनै संकोच नमान्नुहोला । म सानो चित्त बोकेर राजनीतिमा आएको होइन । म पूर्वाग्रह राख्दिनँ ।’





प्रतिक्रिया