काठमाडौं– नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेलले आफ्नो पार्टी अहिले सरकारमा जाने पक्षमा नभएको स्पष्ट पार्नुभएको छ ।
नेपाली बहस डट कमलाई दिनुभएको अन्तर्वार्तामा पोखरेलले एमाले बहुमतप्राप्त सरकार बनाउने अभियानमा रहेकाले जनमतविपरीतको सरकारमा चासो नदिनेसमेत उल्लेख गर्नुभयो । ‘हामी त अहिलेको पाँच दलको गठबन्धनको सन्दर्भिकता पुष्टि हुँदैन भनिरहेका छौं, जनादेशमा जानुपर्छ भन्ने एमालेको घोषित भनाइ छ,’ उहाँले भन्नुभयो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमतको प्रतिनिधित्व गर्न नसक्नेसमेत पोखरेलको भनाइ छ । पुष्पकमल दाहाल र माधवकुमार नेपालमा देखिएको दक्षिणपन्थी अवसरवादले मुलुकको समग्र राजनीति नै एक वर्षदेखि बिथोलिएको उहाँको भनाइ छ ।
केपी शर्मा ओली नेतृत्वको वामपन्थी गठबन्धनलाई बहुमत दिए पनि जनमतको अपमान गरेका कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा समस्या देखिएको पोखरेलको दाबी छ । ‘चुनावको जनादेशविपरीत पराजित शक्तिलाई सर्वोच्चको परमादेशबाट ल्याउने काम भयो,’ उहाँको भनाइ छ, ‘अहिले देखिएका समस्या त्यसैको परिणाम हो ।’
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकार बदल्न वैदेशिक शक्तिहरु लागेको सार्वजनिक गरेकाबेला पोखरेलले भन्नुभयो, ‘उसो भए गठबन्धनमै समस्या रहेछ, अर्को शक्तिले चलखेल गर्ने भनेको त उहाँहरुभित्रैबाट हो । हामी त बाहिर छौं । हाम्रो त घोषित नीति नै ताजा जनादेश हो, अर्को कुरा छैन ।’
पोखरेलले एमालेको यही साता हुने केन्द्रीय कमिटी बैठकले चुनावको तयारीसहितका अभियानमुलक कार्यक्रम घोषणा गर्नेसमेत जानकारी दिनुभयो । ‘बहुमतप्राप्त एमालेको सरकार बनाउने गरी वैचारिक राजनीतिक हिसाबले मुलुकको नेतृत्व गर्ने गरी अभियान सुरु गर्छौं,’ उहाँको भनाइ छ ।
पोखरेलले एमालेको महाधिवेशनले पूर्वमाओवादी र १० बुँदे सहमति गरेका नेताहरुलाई पनि व्यवस्थापन गरेको बताउँदै एमाले गुटरहीत पार्टी बनेको जिकिर गर्नुभयो । उहाँले जीवन्त पार्टीमा वैचारिक बहस हुने भन्दै त्यसलाई अन्यथा लिन नमिल्नेसमेत उल्लेख गर्नुयभो । पोखरेलले पार्टी निर्माणका लागि तीन पुस्ताको समिश्रण रहने भन्दै महाधिवेशनले तीनै पुस्तालाई नेतृत्वमा ल्याएको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेलाई बलियो देशभक्त र लोकतान्त्रिक शक्ति बनाउने अभियान सुरु हुने जानकारी दिनुभयो । उहाँले एमाले वामपन्थीको शक्तिमात्रै होइन, लोकतान्त्रिक शक्तिको आकर्षण बन्नुपर्छ भन्ने मान्यतासहित पार्टी प्रवेशको कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो ।






प्रतिक्रिया