काठमाडौं – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ‘३ मंसीर २०७८ मा नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । उहाँसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए पश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नुपर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवैजनाको नमूनामा एस–जिन फेला परेको थिएन । एस जेन फेला नपरेका उक्त दुवै नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसीर २०७८ मा राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’
हाल दुवैजना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
प्रतिक्रिया