अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी र पोलिटब्युरो कमिटी गठनपछि पार्टी प्रवेश र नयाँ सदस्य बनाउने अभियानमा एमाले

स्थायी र पोलिटब्युरो कमिटी गठनपछि पार्टी प्रवेश र नयाँ सदस्य बनाउने अभियानमा एमाले


काठमाडौं – नेकपा एमालेले नयाँ पार्टी सदस्य बनाउन देशभर अभियान चलाउने भएको छ । सो अभियान यही मंसीर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटीले विस्तृत कार्ययोजना बनाउने तयारी भएको एमाले नेता तथा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

कार्यालयका सचिव तामाङका अनुसार २०७८ मंसीर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ । त्यस्तै स्थायी कमिटीमा केन्द्रीय सदस्यहरूमध्येबाट ५४ जना थपेर ९९ सदस्यीय पोलिटव्युरो समेत गठन गर्नेछ।

पार्टी विधानअनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान भए पनि दोस्रो बैठकमा उक्त एजेण्डाले प्रवेश पाउने सम्भावना कम रहेको तामाङले बताउनुभयो । ‘मंसीर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको एजेण्डाले प्रवेश पाउँछ । तर, केन्द्रीय सदस्य मनोनयनको एजेण्डाले भने केही समयपछि मात्रै प्रवेश पाउँछ’, उहाँले भन्नुभयो, ‘स्थायी र पोलिटब्युरोको गठनपछि मात्रै पार्टी प्रवेश र नयाँ पार्टी सदस्य बनाउने अभियान चलाउने प्रस्ताव अघि बढ्छ ।’

उहाँले एमालेको अर्जुनदृष्टि भनेको निर्वाचन केन्द्रित गतिविधिमा हुने भन्दै पार्टीको लक्ष्य र योजना आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने तर्फ केन्द्रित भएको बताउनुभयो । दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए लगत्तै केपी शर्मा ओलीले नवनिर्वाचित एमाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई तीन महिने ‘पार्टी प्रवेश अभियान’ चलाउने र त्यसतर्फ लाग्न निर्देशन दिनुभएको थियो ।

कार्यालय सचिव तामाङले एमालेले अबको तीन महीनामा हाल रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या वृद्धि गर्ने गरी कार्यक्रम बनाउने तयारी भइरहेको बताउनुभयो । ‘दशौं महाधिवेशनले पार्टी एकताबद्ध छ भन्ने सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको छ, त्यसैले अब एमालेले नयाँ पार्टी सदस्य बनाउने र नवीकरण बाँकी रहेकाहरूको नवीकरण गर्ने काम गर्छ’, तामाङले भन्नुभयो, ‘हाम्रो मिशन भनेको आगामी हुने स्थानीय निर्वाचन अघि कम्तीमा १५ लाख पार्टी सदस्य बनाउने हो ।’

आगामी पुस अन्तिम वा माघको दोस्रो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने अनौपचारिक छलफल भइरहेको तामाङले बताउनुभयो । ‘तर, ठोस निर्णय भइसकेको छैन, निर्णय हुन बाँकी छ’, तामाङले भन्नुभयो, ‘अधिवेशन र नयाँ सदस्यता अभियान सँगसँगै चल्छ।’