खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको छ । चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको हो ।
चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको थियो ।
१८ मसीरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङ भाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताउनुभयो। नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्रोत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो ।
मासिक रु.१३ हजार ५०० तलबसुविधा पाउने नियुक्ति पाउनुभएकी राईले चाम्लिङ लगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया