अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित


बुटवल – नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आउनुभएको २४ वर्षीया डा. अलविरा खानले चुनाव जित्नुभएको छ । बाबुको प्रेरणाबाट राजनीतिमा लाग्नुभएको खानले ८८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पार्नुभएको थियो ।

डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र-३ प्रदेशसभा ‘ख’ बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिनुभएको थियो । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिनुभएको उहाँ प्रदेश समिति सदस्यमा विजयी हुनुभएको हो ।

विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताउनुभयो । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उहाँको भनाइ छ ।

डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित हुनुभएको थियो । उहाँले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गर्नुभएको थियो । खानले एमबीबीएस पूरा गरिसक्नुभएको छ । ‘अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु,’  उहाँले भन्नुभयो ।

उहाँका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन् । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चार समेत जगाएको उहाँले बताउनुभयो ।