काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरू गरेको छ ।
अनेरास्ववियु केन्द्रीय संगठन विभागले काठमाडौंको त्रि-चन्द्र क्याम्पसमा कार्यक्रम आयोजना गरेर महाअभियानको सुरुआत गरेको हो।
काठमाडौंमा एमालेका महासचिव शंकर पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।
अनेरास्ववियुले देशभर सङ्गठन विस्तार गर्दै सदस्यता वितरणलाई तीव्र बनाउने जानकारी दिएको छ। ‘हामीले सङ्गठन विस्तार र सदस्यता वितरणको काम विगतमा पनि निरन्तर गर्दै आएका थियौं,’ कार्यक्रममा अध्यक्ष एवं एमाले केन्द्रीय कमिटी सदस्य सुनिता बरालले भन्नुभयो, ‘अहिले विशेष राजनीतिक परिस्थिति र केही समय सङ्गठन चलायमान हुन सकेको थिएन। अहिले यसलाई अझ विस्तार गर्दै लैजान लागिएको हो।’
उहाँले देशभर नै पुराना सदस्यहरुको नवीकरणसहित महाअभियानबाट देशभर १० लाख सदस्यता वितरण गरिने जानकारी दिनुभयो । अब आउने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई प्रत्येक क्याम्पसमा विजय बनाउने उद्देश्यले अघि बढ्ने उहाँको भनाइ छ।
त्यस्तै रुपन्देहीमा पनि नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको शुभारम्भ गर्नुभएको थियो । रुपन्देहीको गैडहवा गाउँपालिका वडा-२ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेता भट्टराई तराई क्षेत्रमा अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताउनुभयो ।
हिजोआज पनि विद्यार्थीहरु आधारभूत शिक्षाबाट वञ्चित भएको बताउँदै उहाँले शिक्षाको विकास सँगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको बताउनुभयो ।





प्रतिक्रिया