अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेका छन् : महासचिव पोखरेल

सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेका छन् : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको बताउनुभएको छ ।

आज काठमाडौंमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप लगाउनुभयो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दाबी गर्दै उहाँले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने महासचिव पोखरेलले जिकिर गर्नुभयो ।

‘सरकारमा रहेका सत्ता गठबन्धनतर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भइरहेको छ ।’

महासचिव पोखरेलले कुनै पनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको र संसदीय प्रजातन्त्रको विशेषता भएको दाबी गर्नुभयो । उहाँले त्यस्तो फैसलाविरुद्ध मुद्दा-मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी समेत गर्नुभयो । ‘राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन्, अदालत होइन’ पोखरेलको भनाइ छ । उहाँले नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाउनुभयो। ‘आज सरकारमा रहेका गठबन्धनका तर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको छ’, पोखरेलले बताउनुभयो ।

उहाँले नेकपा एमालेले राजनीतिक मुद्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दाबी गर्नुभयो । उहाँले अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरे पनि त्यसमा सत्यता नरहेको बताउनुभयो । ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई तपाईहरुले सुन्नु नै भएको छ ?’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गर्नुभयो ।