अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक


इलाम – भारतीय पक्षबाट पटक-पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो ।

बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गरेको छ । वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय सरकारलाई आग्रह गरेको छ । ‘नेपालतिर दशगजाभन्दा धेरै यता संरचना बनाउँदा एसएसबीले रोक्छ, भारततिर भने दशजगाभित्रै संरचना बनाइएको छ’, एमाले सन्दकपुर गाउँपालिका कमिटीका अध्यक्ष गिरीराज खनालले भन्नुभयो, ‘भारतले पटक-पटक नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ, त्यसको विरोधस्वरूप जंगे पिल्लरमा बैठक बसेका हौ ।’

भारतीय पक्षले वर्षेनी सीमा अतिक्रमण गर्ने गरेको छ । पाँच वर्षअघि इलामको पशुपतिनगर-२ मा दशजगाभित्रै गुम्बा बनाएको छ । नेपाली पक्षको विरोधको बाबजुद पक्की संरचनाको एकतले टाँसी छोइलिङ गुम्बा बनाएको हो । पुरानो गुम्बा मर्मत गर्ने नाममा भारतले दशगजाभित्रै गुम्बा बनाएको हो । भारतले दशगजामै संरचना बनाउने गरे पनि नेपालतर्फ भने दशगजाभन्दा बाहिर संरचना बनाउँदासमेत अवरोध गर्ने गरेको छ ।

इलामको सन्दकपुरमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश-१ सरकारले भ्युटावर निर्माण थालेको थियो । भ्युटावर बनाउन थालिएको ठाउँ दशगजाभित्र पर्ने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध गर्‍यो । भारतीय सीमा सुरक्षा बलले निर्माण कार्यमा अवरोध गरेपछि टावर बन्न सकेको छैन ।

भारतीय टोलीले सरकारी योजना मात्रै होइन । निजी क्षेत्रले घर, शौचालय बनाउन समेत अवरोध गर्ने गरेको छ। सन्दकपुर गाउँपालिका-५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यही आएर रोकेको थियो । घर बनाउन रोक लगाएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । त्यसपछि शेर्पाले घर बनाएकी छन्।

यस्तै कालपोखरी बजारमा शौचालय निर्माण पनि रोकेको थियो । स्थानीयले आफ्नै जमिनमा शौचालय बनाउँदा एसएसबीले अवरोध गर्ने गरेको छ । एसएसबीले सीमा क्षेत्रमा गाडीएका पिल्लरहरू समेत सार्ने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । एसएसबीले तरकारीजन्य वस्तुको बेच्न लैजाँदासमेत अवरोध गर्ने गरेका छन् । एसएसबीले खाद्य सामग्री, निर्माण सामाग्रीमा समेत अवरोध गर्ने गरेको सन्दकपुर गाउँपालिकाको प्रवत्ता समेत रहेका गिरीराज खनाल बताउँनुहुन्छ ।

एमालेको बैठकमा केन्द्रीय सदस्य राम राना र एमाले इलामका अध्यक्ष महेश बस्नेत पनि सहभागी थिए। केन्द्रीय सदस्य रानाले राष्ट्रियता र मुलुकको अखण्डता बचाइराख्ने एमालेको अभियानअन्तर्गत सीमा क्षेत्रमा बैठक राखिएको बताउनुभयो । उहाँले एमाले राष्ट्रियता र मुलुकको अखण्डताको पक्षमा दह्रो गरी उभिएकाले देशी विदेशी शक्तिले एमालेमाथि आक्रमण गरिरहेको दाबी गर्नुभयो ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीको सरकारकै बेला लिम्पियाधुरा लिपुलेकसहितको नक्सा जारी भएकाले अतिक्रमित भूमि फर्ता गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले सीमा क्षेत्रमा हुने अतिक्रमण रोक्नको लागि कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।