काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो ।
केन्द्रीय सदस्यको संख्या पहिलाभन्दा बढी भएकोले गर्दा जर्मन पार्टी प्यालेस बस्न लागेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । यसअघि दुई सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो भने १०औं महाधिवेशनबाट ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित भएका छन् ।
कार्यालय सचिव तामाङका अनुसार यही मंसीर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेन्डा रहेको छ । उहाँले भन्नुभयो, ‘त्यसैगरी जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको बारेमा पनि बैठकले निर्धारण गर्ने छ ।’
त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ । तामाङले स्थायी कमिटीलाई यसैपाली पूर्णता दिए पनि पोलिटब्युरो भने नियुक्तिका लागि केही बाँकी राखेर गठन गरिने छ।





प्रतिक्रिया