अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ

ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ


बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति ९डीसीएमसी०को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।   बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र  सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।

भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताउनुभयो । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।